काठमाडौँ । सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै उक्त फैसला सुनाएको हो । यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ ।
गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत गएको थियो । गत महिना थापा पक्षले पार्टीको नियमित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसपछि देउवा पक्षले उक्त कार्यतालिका कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दिएको थियो ।
गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि पार्टीमा महाधिवेशन निर्वाचन अगाडि वा पछाडि गर्ने भन्नेमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा थापा पक्षले विशेष महाधिवेशन गरेको थियो ।