काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार साँझ बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा उनले आफू पदबाट अलग हुने निर्णयबारे जानकारी गराएका हुन्। बैठकमा सहभागी एक सञ्चालकका अनुसार, श्रेष्ठले त्यहीँ राजीनामा दिने घोषणा गरेका थिए।
बैठक सकिएपछि श्रेष्ठले सञ्चालकहरूलाई जानकारी गराउँदै सरकारलाई सहयोग गर्ने उद्देश्यले आफूले पद त्याग गर्ने निर्णय लिएको बताएका थिए।
बैठकपछि उनी राजीनामा पत्र बुझाउन अर्थ मन्त्रालय पुगेका छन्। उनले आफ्नो राजीनामा डॉ. स्वर्णिम वाग्ले समक्ष बुझाउने जनाइएको छ।
श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।
श्रेष्ठको राजीनामासँगै धितोपत्र बोर्डमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने भएको छ। आगामी नेतृत्व चयन र नियामक निकायको कामकारबाहीमा यसले प्रभाव पार्ने देखिएको छ।