काठमाडौँ । इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ । शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका हुन् । यो घोषणासँगै विश्वभर इन्धन संकट समाधान हुने अपेक्षा गरिएको छ ।
‘लेबनानमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ,’ उनले लेखेका छन् ।
हर्मुज खोलेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्रुथ सोसियलमार्फत धन्यवाद दिएका छन् । ‘इरानले भर्खरै स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाएको र सबै आवतजावतका लागि खुलाएको घोषणा गरेको छ,’ उनले लेखेका छन् ।
बिहीबार मात्रै इरानले हर्मुजको ओमानतर्फको जलमार्गबाट आवतजावत गर्ने प्रस्ताव अघि सारेको थियो । ट्रम्पले गत साता हर्मुज नखोले नाकाबन्दी लगाउने चेतावनी दिएका थिए । इरानले पछिल्ला हप्ताहरुमा यो अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत जहाजहरुसँग ‘टोल’ (शुल्क) लिने र जलमार्गमा आफ्नो सार्वभौमसत्ता लागू गर्ने जस्ता विवादास्पद योजनाहरू अघि सारेको थियो ।
लण्डनमा अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) को बैठकमा सदस्य राष्ट्रहरूले इरानको यस्तो योजनाले खतरनाक नजिर बसाल्ने भन्दै विरोध गरिरहेका थियो ।
अमेरिका–इसराइल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने विश्व ऊर्जा आपूर्तिमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रण वार्ताको केन्द्रमा रहेको छ ।
फेब्रुअरी २८ देखि सुरू भएको युद्धपछि खाडी क्षेत्रमा सयौँ ट्यांकर र झण्डै २० हजार नाविक अलपत्र परेका छन् । अप्रिल ८ देखि दुई साताको युद्धविराम लागू भए पनि जलमार्गको नियन्त्रण अझै समाधान हुन बाँकी रहेकाले यो प्रमुख विषय बनेको छ ।