काठमाडौं । अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको छ । काठमाडौं बुढानिलकण्ठस्थित सिम्लेगाउँमा अटिजमका बालबालिका लागि ‘सुरैया सहयात्री विद्यालय’ को विद्यालय स्थापना गरिएको हो ।
विद्यालयकी प्रिन्सिपल ललिता प्रसाईंले यस विद्यालयको स्थापनाको मुख्य उद्देश्य अटिजम भएका बालबालिकालाई सम्मानजनक शिक्षा, माया र अवसर दिनु रहेको बताउँछिन् । भन्छिन्, ‘यो केवल विद्यालय होइन, एउटा सामाजिक आन्दोलन हो । यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीका अनुसार स्थानीय सरकारको दायित्व केबल विकास पूर्वाधार मात्रै नभएर विशेष सामाजिक दायित्व अन्तर्गत यस्ता विद्यालय स्थापनामा साझेदारी गर्नु रहेको बताएका छन् ।
उनले भने, ‘अटिजम भएका बालबालिकाका लागि यस्तो विद्यालय अत्यन्त आवश्यक छ । बालबालिकाको शिक्षा र समावेशी विकासमा नगरपालिकाले सधै सहकार्य गर्न तयार छ ।’
अटिजम विशेषज्ञ सिर्जना प्रसाईंले समाजमा यस्ता खाले विद्यालय अत्यन्त आवश्यक रहको बताइन् । साथै उनले अटिजम भएका बालबालिकाको क्षमता, अधिकार र सम्मानप्रति राज्यलाई थप संवेदनशील बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।