काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत २ वटा रूटमा सञ्चालन हुने बताएकी छन् ।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन् । यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उनले बताएकी छन् ।
बसमा सुरक्षाका लागि १ जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ । बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराकबाट निगरानी हुनेछ ।
यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ । कसैले दुव्र्यवहारको प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ । यो बस सेवा ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो ।