काठमाडाैं । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ । अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले बिनाअनुमति कानुनविपरीत भिडियो खिचेर कोही कसैको चरित्रहत्या गर्ने किसिमबाट अपुष्ट कुुरालाई अतिरञ्जित गरी सम्प्रेषण गर्ने गरेको पाइएपछि प्रेस काउन्सिलले विशेष अनुगमन थालेकाे हाे ।
सो क्रममा त्यस्ता च्यानलबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, अदालतमा विचाराधीन एवं सुनुवाइको क्रममा रहेका विषयमा न्याय निरूपणमा प्रभाव पार्ने किसिमबाट अतिरञ्जित गरी सामग्री सम्प्रेषण हुने, सामाजिक अभियन्ताका नाममा लाइभ गर्ने, न्यायालयसँग जोडेर अफवाहपूर्ण सामग्रीहरू सम्प्रेषण तथा अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले बिनाअनुमति कानुनविपरीत भिडियो खिचेर कोही कसैको चरित्रहत्या गर्ने किसिमबाट अपुष्ट कुुरालाई अतिरञ्जित गरी सम्प्रेषण गर्ने गरेको पाइएको प्रेस काउन्सिल जनाएकाे छ । साथै काउन्सिलमा यसबारे गुनासा एवं उजुरीसमेत पर्ने गरेका छन् । यस सम्बन्धमा प्रेस काउन्सिलले युट्युबलगायत सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका लागि सुझाव दिन कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनसहित सरकारलाई सुझावसमेत पेस गरेको छ ।
काउन्सिलले पेसागत आचारणबमोजिम कुनै जिम्मेवारी वहन गर्नु नपर्ने, अप्राकृतिक भ्यूअर बढाएर त्यसबाट रकम मात्र आर्जन गर्ने, पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने, आपत्तिजनकरूपमा समाजलाई नै धुमिल तुल्याउने गरी वैयक्तिक गोपनीयताविपरीत, जात, समुदाय, परिवारलाई विखण्डित गर्ने किसिमका सामग्री सम्प्रेषण गर्ने युट्युब च्यानलबारे छुट्टै डेस्क खडा गरी अनुगमन गर्ने भएको छ ।
सोमबार बसेको काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनुगमनको क्रममा प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताप्रतिकूल देखिएमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई पूर्ववतः निर्णयसमेतका आधारमा अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गर्ने निर्णय गरेको छ । साथै त्यस्ता युट्युब च्यानलले सम्प्रेषण गरेका सामग्रीका विषयमा आकर्षित विद्यमान ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी ती च्यानललाई कारबाहीका लागि अनुरोध गर्दै युट्युब कम्पनीलाई पत्राचार गर्नेसमेत निर्णय भएको प्रेस काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
कतिपय युट्युब च्यानलको अनुगमन गर्दा प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारी नभएको, के गर्ने/नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिँदा व्यावसायिकरूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललाई आफ्नो उद्देश्य विवरण स्वघोषणा गर्न आह्वान गर्ने र त्यस्ता च्यानललक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत उपसमितिले गरेको छ ।
यसै सन्दर्भमा प्रेस काउन्सिलले आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी आचारसंहिता अनुगमन उपसमितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णयसमेत भएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।
बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यालनलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए । ‘युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम हुन् । युट्युबबाट भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण हुनु जरुरी छ’, बस्नेतले भने, ‘युट्युबको दुरूपयोग होइन, विश्वसनीय र रचनात्मक बनाउन हामी केन्द्रित हुनुपर्दछ ।’
पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, अदालतमा विचाराधीन अवस्थामा रहेका विषय न्यायिक निरूपणमा प्रभाव पार्ने, जात, समुदाय, परिवारलाई विखण्डित पार्ने एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।