अहिले यदाकदा केही असामाजिक, अराजनीतिक मान्छेहरूले व्यवस्थाको विरुद्धमा छिटफुट आवाज उठाउदै प्रेतात्मालाई जगाउने झिनो कोसिस गरिरहेका छन् । सार्वभौमसत्ता सम्पन्न नेपाली जनता र सार्वभौम जनताको अधिकार खोसेर निरंकुस शासन लाद्न खोजे त्यो किमार्थ मान्य हुने छैन ।
व्यवस्था होइन अवस्था बदल्नु पर्छ, यसको लागि गणतन्त्रवादी पार्टीहरूको मुख्य भूमिका रहनुपर्छ । हिजो गणतन्त्र स्थापना गर्न जसरी पार्टीहरू एक ठाँउ उभिए त्यसरी नै अवस्था बदल्न पार्टीहरू एकै ठाउँ हुनै पर्दछ।
आर्थिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्थालगायत मानव जीवनमा अपरिहार्य अन्य अवस्थाहरुमा व्यापक बदल्न आजको नितान्त आवश्यकता हो । तर आज यो देशमा जे देखिन्छ त्यो केवल सरकार बनाउने र भत्काउने खेल तिर केन्द्रित रहेको देखिन्छ ।
यो शृङ्खला विगत लामो समय देखि चल्दै आएको हो। राणा कालीन व्यवस्थामा पनि राणा–राणाबीच प्रधानमन्त्री हत्याउन भयंकर षड्यन्त्र हुने गर्थे । हत्यासम्मको योजना बनाई मान्छे मारिन्थे । २००७ पछि राजा कालीन (राणा कालीन व्यवस्था पनि राजा थिए तर अधिकार सबै राणाका हातमा थिए) व्यवस्थामा स्वयम् राजाहरुले प्रधानमन्त्रीलाई खेलौना बनाएको ईतिहास पाईन्छ ।
कहिले को, कहिले को, आज छ भोलि छैन त्यति मात्र होइन २०४६ सालको जनआन्दोलन पछि स्थापित बहुदलीय व्यवस्थामा पनि तत्कालीन राजाले प्रधानमन्त्री फेर्न दरबारमा बसेर योजना बनाउथे, कोहिलाई बर्खास्त त कोहिलाई राजीनामा दिन बाध्य बनाउथे ।
यति सम्म गर्थे त्यहि व्यक्ति कोहि बेला प्रधानमन्त्री बन्न सक्षम कोहि बेला असक्षम । यसरी यो देशमा कुनै
प्रधानमन्त्रीले पुरापुरी कार्यकाल काम गर्न पाएको देखिदैन् । यी सबै ईतिहास बुझेका नेताहरुले यो गलत परम्परामा सुधार ल्याउनु भन्दा निरन्तरता दिनु दुखद कुरा हो । एता तान्यो, उता तान्यो सरकार बनायो अनि प्रतिपक्षमा पुग्नेहरुले त्यो सरकारको आलोचना, विरोध र खण्डनमा सारा समय खर्च्यो ।
सरकार पक्ष, सरकार टिकाउन लागिरहनु पर्ने अनि कसरी अवश्थामा परिवर्तन आउँछ ? बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रमा केही नभएको होईन व्यापक भएको छ, तर जो सरकारमा हुन्छ । उसको प्रतिपक्षमा हुनेहरुले केही गरेन भनेर नकारात्मक भ्रम छरेपछि जनतामा निरासता उत्पन्न हुन गयो त्यसपछि यो व्यवस्था नै गलत हो कि भनेर जनता अलमलमा परे र केही स्वार्थीहरु राजा आउ भन्न थाले ।
त्यसकारण राजनितीक स्थायित्वको लागि राजनितीक दलहरु लाग्नुको विकल्प छैन । निर्वाचनमा जनताको मन जितेर बहुमत ल्याई पूर्ण समय सरकार चलाउन प्रत्येक पार्टी कम्मर कसेर लाग्नु पर्छ । निर्वाचनमा सानो हुने पार्टीले प्रतिपक्षमा बसी रचनात्मक भूमिका निभाउनु पर्छ तर यहाँ त सानो होस् या ठूलो सरकारमा आँखा गाड्ने र भत्काउन र बनाउन लागि पर्ने ।
अनेकौं जुक्ति लगाउने आफूबाट सम्भव नभए छिमेकीसँग हार गुहार माग्ने । छिमेकी यस्तो पर्यो कि नेपालमा जहिल्यै अस्थिरता होस्,अशान्ति होस् र सदा गरिब बनिरहोस् त्यसकारण उसले खेलोमेलो गर्ने नै भयो ।
यो नेपाल र नेपाली जनताको लागि दुर्दशा हो । विशेषगरी अब यश देशमा देखिएका ठूला पार्टीहरूले राजनीतिक स्थायित्वका लागि योगदान गरौं, निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिलाउन जनताको मन जित्न लागौँ । बहुमत प्राप्त पार्टीलाई पाँच बर्ष सरकार चलाउन दिऔँ ।
यदि कसैको बहुमत नआए मिलिजुली भएपनि प्रधानमन्त्रीलाई पाँच बर्ष पुरापुरी सरकार चलाउन दिऔँ । यसो भयो भने प्रतिगामीहरुले टाँउको उठाउन पनि सक्दैनन् र अवस्थामा पनि परिवर्तन हुन्छ । यदि सबै मिलेर अगाडी बढेमा यो देश बन्न कत्ति समय पनि लाग्दैन ।