काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा २ दिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । उनले भारतीय समकक्षी मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । सोमबार नै उनी नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धासुमन अर्पण गर्नेछन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आजै शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणकै क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य बढाउने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यले शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् र उनीहरूका चासो तथा सरोकार सुन्नेछन् । भारतबाट थप लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासहरू पनि प्रस्तुत गरिनेछन् । यो कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको सेतु बनाउने अपेक्षा गरिएको छ ।
शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार रहनेछन् । भ्रमण सकेर शाह भोलि सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।