काठमाडौं । नेपाल लोकतान्त्रिक थामी संघको पहिलो राष्ट्रिय अधिवेशन थामी समुदायको उद्गमस्थल मानिने जिल्ला दोलखामा हुने भएको छ ।
एमाले सम्बद्ध जनसंगठन नेपाल आदिवासी जनजाति महासंघको सक्रिय घटक संगठनका रूपमा स्थापित संघको अधिवेशन आगामी १९ मंसिरमा सदरमुकाम चरिकोटमा हुने कार्यक्रम तय भएको हो । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
एमाले दोलखाले अध्यक्ष ओलीकै प्रमुख आतिथ्यमा हुने अधिवेशनलाई 'मिसन राष्ट्रिय जागरण' अन्तर्गत पार्टीको राष्ट्रिय भेलाको सन्देश प्रवाह गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा रूपान्तरण गर्ने गरी तयारी अघि बढाएको छ ।
एमाले दोलखाका इन्चार्ज तथा पूर्वमन्त्री पार्वत गुरुङको अगुवाइमा शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अगुवा नेता–कार्यकर्ताको प्रारम्भिक तयारी भेला भएको थियो । एमाले जिल्ला कमिटी दोलखा र दोलखा सम्पर्क कमिटीको संयोजनमा भेला बसेको थियो ।
भेलालाई सम्बोधन गर्दै इन्चार्ज गुरुङले अल्पसंख्यक थामी समुदायलाई मूलप्रवाहीकरण गर्ने कामलगायतको अगुवाइ एमालेले नै गर्दै आएको बताए । त्यसैले उद्गमस्थल दोलखामा हुने पहिलो राष्ट्रिय अधिवेशनलाई पार्टीले राष्ट्रिय भेलाको सन्देश प्रवाह गर्ने कार्यक्रमकै रूपमा अघि बढाउन चाहेको उनले जानकारी दिए ।
पार्टीलाई पुनर्जागृत गर्दै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य पूरा गर्न पनि अधिवेशनलाई भव्य बनाउने गरी तयारी गर्नुपर्ने आवश्यकता गुरुङले औंल्याए । उनले काठमाडौंमा रहेका पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई जिल्लामा हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरे ।
केन्द्रीय सदस्यहरू विनोद पाण्डे र श्याम बस्नेत तथा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीले राष्ट्रिय भेलाको सन्देशसहित केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्ता मुख्य लक्ष्य प्राप्तिका लागि एउटै लय र शैलीमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले पार्टीले सञ्चालन गरिरहेको मिसन राष्ट्रिय जागरणकै रूपमा अधिवेशन सम्पन्न गर्ने गरी तयारी गर्न एमाले दोलखालाई आग्रह गरे । त्यसका लागि महासंघले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
भेलामा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू रचना खड्का र डबल पाण्डे, नेतृहरू सरस्वती बस्नेत र उर्मिला सुनुवार, केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ती पाख्रिन र डिल्ली बराईंली, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोजमोहन लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर र दोलखा सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्कासहित पार्टी र जनवर्गीय संगठनका विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
भेलाले तयारीका लागि विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ :
- स्थानीय तह र जनप्रतिनिधिसँगको समन्वयसहित तयारी : प्रदेश मन्त्री केसी
- प्रचार संयोजन : शुरोजङ्ग पाण्डे
- विभिन्न समुदायको झाँकी प्रदर्शन : जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर
- थामी समुदायको सांस्कृतिक झाँकी : प्रदेश सांसद ठूला थामी र विगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी
- काठमाडौंको तयारी संयोजनको समग्र जिम्मेवारी : बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोजमोहन लामा र दोलखा सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का
- जनजाति समुदायको समग्र परिचालन : जंग गुरुङ र थिरबहादुर मोक्तान
- सुरक्षा व्यवस्थापन तथा जनवर्गीय संगठनको संयोजन र परिचालन : नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे
- सांगीतिक कार्यक्रम संयोजन : अमृत खाती
दोलखाको भीमेश्वर नगरपालिकास्थित सुष्पाक्षमावतीको राङथलीलाई अल्पसंख्यक थामी समुदायको उद्गमस्थल मानिन्छ । देशभर थामीको जनसंख्या ३२ हजार ७४३ रहेकोमा किरात समुदायभित्र पर्ने थामीको जनसंख्या दोलखामा मात्रै १८ हजार १४१ छ । दोलखाको कुल जनसंख्याको १० प्रतिशत थामी समुदायले ओगटेको छ । सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, झापालगायत केही अन्य जिल्लामा पनि थामीको बसोबास छ ।