काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरका नगरपालिकाबीच भएको शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा नगरपालिका बागमती प्रदेश उत्कृष्ट घोषित भएको हो । प्रधानाध्यापक एशोसियशन नेपाल (पान) ले गगठन गरेको स्वतन्त्र मूल्याङ्कनमा बुढानीलकण्ठ उत्कृष्ट घोषणा भएको हो ।
प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वको स्वतन्त्र विज्ञ मूल्यांकन समितिले गरेको मूल्याङ्कनका आधारमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।देशभरका विभिन्न प्रदेशबाट छनोट भएका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय तथा गाउँपालिकापालिकालाई पनि पान नेपालले सम्मान गरेको जनाइएको छ ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुुद शाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहका अनुसार नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको कामका आधारमा बागमती प्रदेशमा नै उत्कृष्ट नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।
नगरपालिकाले प्रारम्भ गरेको शिक्षक बैंक, सघन शिक्षण–सिकाइ सेसन, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन र विद्यार्थी सशक्तीकरणजस्ता कार्यक्रमलाई शैक्षिक सुधारका कार्यक्रम गर्दै आएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न फरक प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । उक्त सम्मानले आगामी दिनमा शिक्षा क्षेत्रमा थप काम गर्ने उत्साह थपिएको सिंहले बताए ।
यसअघि शिक्षालय नेशनल म्यागजिनले गरेको २०८० सालको मूल्याङ्कनमा पनि बुढानीलकण्ठ नगरपालिका नेपालभरिबाट उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भई पुरस्कृत भएको थियो । लगातार विभिन्न मूल्यांकनमा उत्कृष्ट छनोट हुनुले नगरपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका कार्यक्रम र सुधारका प्रयासलाई नगरपालिकाले थप प्रभावकारी बनाउँदै जाने नगरपालिकाको योजना छ ।