काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनु अपरिहार्य रहेको बताएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान' भन्ने नारासहित आयोजित कार्यशालाको मुख्य विषय 'वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म' रहेको छ।
आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग र त्यसबाट सिर्जित चुनौतीहरूको सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन आवश्यक रहेको उल्लेख गरे। उनले विभागका सबै कर्मचारीलाई स्थापना दिवसको शुभकामना पनि दिए।
कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण हुने अपेक्षा उनले व्यक्त गरे। प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान हुने विश्वास पनि उनले लिए।
वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य र सूचनाको आदानप्रदान सुदृढ बनाउनुपर्ने उनले जोड दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।
सोही अवसरमा आईजीपी केसीले 'नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३' पुस्तक लोकार्पण गरे।