काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका २० उत्कृष्ट करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति र संस्थाहरूलाई विभागले क्षेत्रगत रूपमा छनोट गरेको हो ।
विभागमा आयोजित विशेष कार्यक्रमका बीच घोषणा गरिएको नतिजा अनुसार संस्थागत आयकर तिर्नेमा सूर्य नेपाल पहिलो भएको छ । व्यक्तिगत आयतर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध सञ्चालक राजबहादुर शाह उत्कृष्ट करदाता बनेका छन् ।
मूल्य अभिवृद्धि कर (भ्याट) सबैभन्दा बढी बुझाउने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ । बैंकिङ क्षेत्रमा नबिल बैंक, पर्यटनमा सोल्टी होटल लिमिटेड र सूचना प्रविधिमा तिन फाइनाइट सर्भिसेस नेपाल छानिएका छन् ।
कठिन व्यावसायिक वातावरणका बीचमा पनि राम्रो कर योगदान दिएको भन्दै भाटभटेनी सुपरमार्केटलाई ‘एक्सेप्सनल बिजनेस’ शीर्षकमा सम्मान गरिएको छ । कम्पनीको तर्फबाट सावित्री गुरुङले सम्मानपत्र र प्रमाणपत्र बुझेकी थिइन् ।
कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले करदातालाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरेका थिए ।
क्षेत्रगत उत्कृष्ट करदाता
संस्थागत आयकर: सूर्य नेपाल
व्यक्तिगत आय: राजबहादुर शाह
भ्याट (सबैभन्दा बढी): हिमालयन डिस्टिलरी लिमिटेड
एकल स्वामित्वको व्यवसाय: थर्ड आई इन्टरनेशनल
वस्तु निर्यात: डाबर नेपाल प्रा.लि.
वस्तु व्यापार: सीजी इम्पेक्स प्रा.लि.
सूचना प्रविधि: तिन फाइनाइट सर्भिसेस नेपाल
कृषि तथा पशुपन्छी: ओसीबी फुड्स एण्ड फिड्स
बैंकिङ: नबिल बैंक
स्वास्थ्य तथा शिक्षा: नोबेल कलेज तथा टिचिङ हस्पिटल
पर्यटन: सोल्टी होटल लिमिटेड
ऊर्जा उद्योग: भोटेकोशी पावर प्रा.लि.
रेमिट्यान्स तथा मनी एक्सचेन्ज: आईएमई लिमिटेड
विशेष उद्योग: वरुण बेभरेज नेपाल प्रा.लि.
जीवन बीमा: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
निर्जीवन बीमा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
लघुवित्त: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
५० करोडसम्मको कारोबार: इम्पेरियल सेक्युरिटिज प्रा.लि.
५० देखि १०० करोडसम्मको कारोबार: फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रा.लि.
एक्सेप्सनल बिजनेस: भाटभटेनी सुपरमार्केट