रुपन्देही । रुपन्देहीमा देउसीभैलोमा अश्लील नृत्य गर्ने थप तीन युवती पक्राउ परेका छन् । भैरहवास्थित सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले तीन युवतीलाई नियन्त्रणमा लिएको हो ।
नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन् ।
उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।
प्रहरीले नेपाली मौलिक कला, संस्कृति र सामाजिक मर्यादामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न आग्रह गरेको छ । देउसीभैलोजस्ता सांस्कृतिक पर्वका नाममा अश्लील तथा सामाजिक मर्यादाविपरीतका गतिविधि हुन नदिन प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
यसअघि यस्तै अश्लील प्रस्तुती गर्ने २ महिला पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत यसअसघ पक्राउ परेका थिए । भैलोको नाममा अश्लिल नृत्य देखाउने भन्दै आलोचना बढेपछि प्रहरीको सकृयता बढेको हो ।