काठमाडौँ । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा छिटपुट वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । अन्य हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत छिटपुट वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ ।
राति तथा बिहानको समयमा तराईका भूभाग, उपत्यका र खोँचहरूका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।