काठमाडौँ । विदेश र सहरको चटारोबाट दिक्क भएर गाउँ फर्केको भाव बोकेको लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक बसन्त थापाको स्वरमा रहेको गीत ‘एसएस सिरिज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा नवराज पन्तले शब्द लेखेका हुन् भने संगीत थापाले नै भरेका छन् । ‘डाडै फुर्के सल्लो’ र ‘सालको पातको टपरी’ जस्ता लोकप्रिय गीतमा सँगै काम गरेका माझी, थापा र पन्तले केही समयको अन्तरालपछि फेरि सहकार्य गरेका हुन् ।
गाउँघरको संस्कृति, लाहुरे परिवेश र मायाप्रेमको भाव समेटिएको गीत डान्सिङ शैलीमा तयार पारिएको छ । गाउँ ठाउँ नै ठिक हो र गाउँका फूल राम्रा छन् भन्ने सन्देश गीतले दिएको छ ।
गीतको भिडियोमा प्रदीप लामा र जुना विश्वकर्माले अभिनय तथा नृत्य गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । छायांकन नवराज उप्रेतीको र सम्पादन मनोज कार्कीको हो ।