नेपालगन्ज । बास नेपालको समन्वयमा चर्चित गायक सुनिल सिँह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ आज नेपालगन्जमा सार्वजनिक गरिएको छ। गीतको म्युजिक भिडियो सार्वजनिक हुँदा कार्यक्रममा उपस्थित सबै सहभागी भिडियोमा झुम्मिएका थिए।
सार्वजनिकीकरणसँगै गायक ठकुरीले मञ्चमा नयाँ गीतको लाइभ प्रस्तुति पनि दिएका थिए। उनले मञ्चमा गीत गाइरहँदा कार्यक्रममा उपस्थित मोडल करिष्मा शाही ठकुरी पनि मञ्चमा आएर नाच्न थालेपछि सबै सहभागी गीतमा रमाएका थिए।
पश्चिम नेपालको भाषामा रहेको उक्त गीत वरिष्ठ संगीतकार एवं कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश शर्माले सार्वजनिक गरेका थिए। लाइभ प्रस्तुतिपछि गायक ठकुरीले तिहारको समयमा आयोजित कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाको लगाव गीत र संगीत क्षेत्रमा हुनु सुखद भएको बताए। उनले सार्वजनिक गीतले सबैको मन जितोस् भन्ने शुभकामना व्यक्त गरे।
यस्तै, अतिथि प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गीत र म्युजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको भन्दै शुभकामना व्यक्त गरिन्। बास नेपालका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताको क्षेत्रमा क्रियाशील बासले स्थानीय कला–संस्कृति जगेर्नामा भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे। अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदूरपश्चिमको कला–संस्कृति प्रस्तुत गरिएको गीतको सफलताको शुभकामना दिएका थिए।
‘ओ मेरा छोर्याट्टि’ को सार्वजनिकीकरण तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढीको उपस्थिति रहेको थियो।