काठमाडौं । तिहारको पहिलो दिन मानिने काग तिहार आज शनिबार विविध श्रद्धाभक्तिका साथ मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीमा पर्ने यो पर्वमा बिहानै कागलाई मिठा परिकार खुवाइन्छ ।
सूर्योदयका बेला त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था छ। त्यसअनुसार यस वर्ष शनिबार नै पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले बताए ।
शास्त्रीय मान्यताअनुसार यमराजले संसारको समाचार कागमार्फत पाउँछन्, त्यसैले कागलाई यमराजका दूत मानिन्छ। यमराजसमक्ष असल खबर पुगोस् भन्ने कामनासहित कागको पूजा गरी मिठो खानेकुरा दिएर प्रसन्न पार्ने चलन छ ।
लोकव्यवहारमा घरवरिपरि काग कराउँदा "शुभ बोल, शुभ बोल" भन्ने गरिन्छ। कागले कुनै सन्देश लिएर आएको विश्वास गरिन्छ ।
पर्वका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुन्छ । हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।
तिहार पर्वलाई पाप गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वाससँग जोडिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने क्रम शुक्रबार साँझदेखि सुरु भएको छ । वैदिक सनातन विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर राख्नुपर्छ । यसो गरे यमयातनाबाट मुक्ति मिल्छ भन्ने विश्वास छ ।
यस वर्ष तिथिको घटबढका कारण साँझमा कात्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक शुक्रबार साँझैदेखि सुरु भएको हो। त्यसैगरी लक्ष्मी घरमै स्थिर रहून् भन्ने कामनाले गहना र तामाका भाँडा किन्ने धनतेरस पनि शुक्रबार नै मनाइएको छ ।