डोटी । शिखर नगरपालिका–६ को पचनाली, तलकोटका डाँडाकाँडामा गुन्जिएको एउटा आवाज अहिले राष्ट्रिय मञ्चमा पुगेको छ । गाउँघरका गीतसँगै हुर्किएका २४ वर्षीय श्याम जि परियार यतिबेला ‘लोकदोहोरी स्टार सिजन–२’ मा आफ्नो सुरले दर्शकको मन जित्ने प्रयासमा छन् ।
अडिसन राउन्डबाट सुरु भएको उनको यात्रा अहिले उत्कृष्ट २० सम्म आइपुगेको छ । अब उत्कृष्ट १६ मा पुग्ने उनको सपना दर्शकको एक–एक भोटमा अडिएको छ ।
२०५८ साल भदौ २६ गते जन्मिएका परियार बुबा नरी नेपाली र आमा मातादेवी नेपालीका चार सन्तानमध्ये साइला छोरा हुन् । सानैदेखि गीत–सङ्गीतमा रमाएका उनले हरिहर माध्यमिक विद्यालयमा पढ्दै सपना बुने र २०७७ सालदेखि औपचारिक रूपमा गायनयात्रा सुरु गरे ।
अहिलेसम्म उनका सातवटा गीति एल्बम सार्वजनिक भइसकेका छन्, जसमा ‘पिउने बनायो’, ‘सुन्नु न ठुल दाई’, ‘नागिनवाला डान्स’, ‘नागिन वाला डान्स–२’, ‘गाँजाको डब्बा’, ‘मार्यो व्यथाले’ र ‘बदनामी’ पर्छन्। गायनलाई अझ मिहिन बनाउन उनी म्युजिक क्लास पनि लिइरहेका छन्, साथै रोधीघरमा काम गर्दै जीवनको गाँठो पनि सम्हालिरहेका छन् ।
लोकदोहोरी स्टारमा उनले अडिसन, मेगा अडिसन, ग्रान्ड प्रिमियर र टप २४ भोटिङ राउन्ड पार गरिसकेका छन् । टप २० बाट टप १६ मा पुग्ने प्रतिस्पर्धाका लागि कार्तिक १६ गतेदेखि सुरु भएको भोटिङ कार्तिक १९ गते दिउँसो ४ बजेसम्म चल्नेछ ।
Aventoz App एप डाउनलोड गरी ‘लोकदोहोरी स्टार सिजन–२’ मा गएर श्याम जि परियारलाई छानेर भोट गर्न सक्छन् । इसेवा एप र मोबाइल बैंकिङमार्फत पनि भोट गर्न सकिन्छ ।
आफ्नो यात्रामा हौसला दिने दर्शक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै परियारले अझै माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् । डोटीकै कलाकार सुर्यविरही साउँदका अनुसार स्थानीय प्रतिभाले राष्ट्रिय मञ्चमा कला प्रस्तुत गर्नु सिङ्गो जिल्लाको पहिचानलाई उचाइ दिने अवसर हो । आधुनिक गायनमा बढी रुचि राख्ने परियार लोकदोहोरी विधालाई पनि उत्तिकै माया र न्याय दिएर गाउँछन्।