काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशमाथि उठेका प्रश्नको यथाशीघ्र निष्पक्ष छानबिन गर्न माग गरेको छ । बिचौलियासँग साँठगाँठ रहेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि संस्थाले यस्तो माग गरेको हो ।
संस्थाका उपाध्यक्ष सरोजप्रसाद पाण्डेले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाको प्रभाव रहने गरेको भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको उल्लेख छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमले न्यायाधीशहरूको बिचौलियासँग सम्बन्ध रहेको समाचार प्रकाशित गरेको र सम्बन्धित न्यायाधीशले दिएको स्पष्टीकरणप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।
वक्तव्यमा न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा अन्य प्रभावशाली व्यक्तिसँग भेट्नु वा सम्पर्कमा आउनु संवैधानिक, कानुनी तथा व्यावसायिक रूपमा न्यायाधीशले पालना गर्नुपर्ने नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन हुने धारणा राखिएको छ ।
उठेका प्रश्न गम्भीर प्रकृतिका र न्यायालयमा आमूल सुधार आवश्यक रहेको तथ्य जगजाहेर रहेको भन्दै आरोप लागेका व्यक्तिले दिएको सार्वजनिक स्पष्टीकरणले मात्र समाधान नहुने उल्लेख गरिएको छ ।
टीआई नेपालले न्यायमूर्तिले कानुनमा उल्लेख भएभन्दा उच्च सदाचार प्रदर्शन गर्नुपर्ने बताएको छ । समाचारमा इङ्गित गरिएका र स्पष्टीकरण दिएका न्यायाधीशले उठेका प्रश्नको समाधान नहुञ्जेल न्याय सम्पादनमा संलग्न नहुनु उचित हुने संस्थाको सुझाव छ ।
संस्थाले प्रजातान्त्रिक प्रणालीमा कार्यपालिका र न्यायपालिकाको स्वतन्त्रता तथा कार्यप्रभावकारिताको अनुगमन गरी आवश्यक निर्णय गर्ने निकाय संसद् भएको उल्लेख गर्दै विषयको गाम्भीर्य र सार्वजनिक महत्त्वलाई ध्यानमा राखी ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी निर्णय गर्न आह्वान गरेको छ । साथै सम्बन्धित न्यायाधीशको सम्पत्तिको छानबिन पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।