काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाको भ्रमण गरी टिकटकलगायत सामाजिक सञ्जालमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नेछन्।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिलगायतका अनुभव विश्वभरका दर्शकमाझ पुर्याउन बोलाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएका छन्।
यूएई र ट्युनिसियाका ३ जना क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। बोर्ड सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष सङ्गिता पौडेलले उनीहरूलाई स्वागत गरे। अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरे।
कसले कहाँ बनाउँछन् सामग्री?
पोखरा: बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिल
चितवन: फ्रान्सका जेरेमी ब्युडेट (वन्यजन्तु, निकुञ्ज र थारू संस्कृति)
बर्दिया: पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु ली (प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन)
भ्रमणका क्रममा क्रिएटरले गन्तव्यका प्राकृतिक र सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान र साहसिक गतिविधिको सामग्री पनि बनाउने वरिष्ठ प्रबन्धक थपलियाले बताए।
एनटीबी र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसअन्तर्गत सुरु ‘#LifetimeExperiences’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वभर पुर्याउने लक्ष्य राखेको छ। थपलियाका अनुसार अभियानमा अन्तर्राष्ट्रिय र नेपाली क्रिएटरलाई विभिन्न गन्तव्य घुमाएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिनेछ र ती सामग्री टिकटकमार्फत प्रवर्द्धन गरिनेछ।
सन् २०२६ मा पनि डिजिटल प्रवर्द्धनका गतिविधि निरन्तर छन्। यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला भएको थियो। त्यसमा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी र पर्वतारोहीलाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र गन्तव्य प्रवर्द्धनबारे प्रशिक्षण दिइएको थियो।
बोर्डले वास्तविक यात्रा अनुभव र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएको छ। विशेषगरी युवामाझ लोकप्रिय टिकटकका छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्ने र पर्यटकलाई यात्राको निर्णय गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यसले पोखरा, चितवन र बर्दियाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई पनि लाभ पुग्ने बोर्डको अपेक्षा छ।