काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले समाचार कक्षमै पुगेर पत्रकारलाई सोधपुछ, धरपकड र पक्राउ गर्नु गलत भएको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानले मौलिक अधिकारका रूपमा दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छ,’ उनले भने, ‘विधिको शासन र मानव अधिकारको पनि सम्मान गर्छ। प्रेस स्वतन्त्रताको विषयमा पार्टी कसैसँग कहिल्यै सम्झौता गर्दैन।’
पत्रकार तथा सञ्चारकर्मीमाथि कसले, किन र कसरी यस्तो गतिविधि गर्यो भन्ने विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिइएको उनले जानकारी दिए । दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै सम्झौता नगर्न र ढिलाइ नगरी शीघ्र नतिजा देखाउन पनि सरकारलाई भनिएको उनले बताए ।
समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीले भविष्यमा यस्तो अवस्था भोग्नु नपर्ने गरी प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिइएको खरेलको भनाइ छ ।
न्यायालयको पुनर्संरचनाका लागि संसद्मार्फत प्रक्रिया
बैठकले न्यायालयमा देखिएका विकृति, विसंगति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विषयमा संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । न्यायालयको समग्र पुनर्संरचनाको आवश्यकता महसुस गरेको भन्दै पार्टीले संसदीय दललाई यस विषयमा संसद्मार्फत अघि बढ्न निर्देशन दिएको खरेलले बताए ।
‘यो अदालतबाट मात्रै वा न्याय परिषद्बाट मात्रै टुङ्गिने विषय होइन,’ उनले भने, ‘समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् नै हो। त्यसैले अब संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्छ।’
न्यायाधीशहरूसँग जोडिएका विवादका विषयमा महाअभियोग लगाउने वा छानबिन गर्ने भन्ने प्रक्रिया भने संसद्ले नै निर्धारण गर्ने उनले स्पष्ट पारे ।
मधेस समस्याबारे प्रतिवेदन अध्ययनमा
बैठकमा मधेस प्रदेश तथा जिल्लामा देखिएका पार्टीका आन्तरिक समस्याबारे सहमहामन्त्री हरिलालको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि पेस भएको छ । उक्त प्रतिवेदनका आधारमा पार्टीले आगामी कदम चाल्ने खरेलले जानकारी दिए ।
चीन भ्रमणमा जाने
बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा पठाउने निर्णय पनि गरेको छ ।