काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले ‘काठमाडौँ फिल्म फेस्टिभल’ कथा सुनाउने काठमाडौँको प्राचीन परम्परालाई युवा, चलचित्र र प्रविधिसँग जोड्ने प्रयास भएको बताएका छिन् ।
महानगरको निमन्त्रणामा फेस्टिभलमा सहभागी हुन आएकी भारतीय अभिनेत्री सवाना र जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले शुक्रबार कार्यवाहक प्रमुखसँग भेट गरे । भेटमा महानगरका अधिकारी, फेस्टिभलका निर्देशक र क्युरेटरहरू पनि सहभागी थिए ।
भेटमा डंगोलले डबली नाटक, देव नृत्य, फल्चामा गाइने दाफा तथा हजुरबाले नातिनातिनालाई सुनाउने दन्त्यकथा, लोककथा र पौराणिक कथा सबै कथा सुनाउने परम्पराका रूप भएको बताइन् । “आधुनिकतासँगै यी प्रचलन कम हुन थालेपछि फिल्म फेस्टिभल आयोजना गरेर कथा भन्ने संस्कारलाई युवा र फिल्मसँग जोड्न खोजेका हौँ,” उनले भनिन् ।
फेस्टिभलको निरन्तरता र समुदायसँगको सम्बन्धबारे अतिथिहरूले जिज्ञासा राख्दा उनले भनिन्, “यात्रा थालेका छौँ, यो सुरुवात हो। सुधार गर्दै निरन्तर अगाडि बढ्ने योजना छ।”
अभिनेत्री सवानाले काठमाडौँले यसअघि गरेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले घरमा बस्ने दर्शकलाई चोकसम्म ल्याएर फिल्मप्रति रुचि जगाएको उपलब्धिका रूपमा लिइन् । “अब समुदायमा आफ्नै कथा पहिचान गर्ने, सुन्ने र सुनाउने सीपको विकास गर्नुपर्छ। यसले चलचित्र उद्योगको विकासमा ठूलो सहयोग पुग्छ,” उनले भनिन् । राजनीतिभन्दा पनि समुदायसँग जोडिएका चाखलाग्दा कथा चलचित्र निर्माणका लागि उपयुक्त हुने उनको भनाइ थियो ।
निर्देशक ताकायुकीले आफ्नो सहर यामागाताले युनेस्कोको क्रियटिभ सिटिज नेटवर्कको सदस्यता पाएका सहरबीच भिडियोमार्फत पहिचान, संस्कार, संस्कृति र परम्पराको आदानप्रदान गर्दै आएको जानकारी दिए । काठमाडौँ महानगरले फिल्म फेस्टिभल आयोजना गरेर महत्त्वपूर्ण काम थालेको उनले बताए। “हाम्रो सहरले हरेक दुई वर्षमा फेस्टिभल आयोजना गर्छ। यसमार्फत सदस्य सहरहरूलाई एउटै मञ्चमा ल्याउन चाहन्छौँ,” उनले भने । आजबाट सुरु भएको फेस्टिभल पर्सिसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुनेछ।