काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकका गुनासो सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न पूर्णरूपमा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वको सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले समाजमा देखिने चुनौती सामना गर्न प्रभावकारी प्रहरी परिचालनमा जोड दिएका हुन् ।
कार्कीले चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिए । सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कार्य नियन्त्रण गर्नुपर्ने उनले बताए ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै नियम पालनासम्बन्धी जनचेतना फैलाउनुपर्नेमा पनि उनले जोड दिए ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै उनले सूचना सङ्कलन र विश्लेषणलाई प्रभावकारी बनाउनुपर्ने बताए । चाडपर्वका समयमा जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार र सामाजिक सद्भाव खलल पार्ने गतिविधि नियन्त्रणमा पनि प्रहरी सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना बनाएर स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गर्न र व्यावसायिक, उत्तरदायी तथा जवाफदेही प्रहरी सेवा प्रवाह गर्न उनले निर्देशन दिए ।
काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन निर्देशन दिँदै कार्कीले अनलाइन बेटिङलगायत गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको अधिकतम प्रयोग गर्न र संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
त्यस्तै, आगामी बिहीबारदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारीसहित प्रहरी परिचालन गर्न उनले आग्रह गरे । होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा पनि संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।
प्रहरी कर्मचारीले व्यावसायिक मर्यादा र अनुशासन पूर्णरूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै कार्कीले सामाजिक सञ्जाल प्रयोगमा समेत संवेदनशील हुन निर्देशन दिए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य प्राप्तिका लागि सामूहिक भावनाका साथ काम गर्न आग्रह गर्दै उनले गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने बताए ।
प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई आ–आफ्नो कार्यक्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी कमजोरी समयमै सुधार गर्न पनि उनले निर्देशन दिए । मातहतका प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै उत्कृष्ट कार्यसम्पादनका लागि नवीन कार्ययोजना ल्याउनसमेत उनले आग्रह गरे ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर तथा सातै प्रदेशका प्रहरी प्रमुखले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रहरी तालिम केन्द्र, गण, परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रतिनिधि भर्चुअल माध्यमबाट सहभागी थिए ।