काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वा पुइग–इञ्जालाई काठमाडौं फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा दिएकी छन्। शिष्टाचार भेटका लागि आइतबार आफ्नो कार्यकक्षमा आएका राजदूतलाई उनले निमन्त्रणा दिएकी हुन्।
भेटमा कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदाको अनुभव सुनाउँदै डंगोलले काठमाडौं फिल्म फेस्टिभलका लागि सिकाइ गर्ने स्पष्ट लक्ष्यसहित आफू कान्स पुगेको बताइन्। “स्थानीय अर्थतन्त्रलाई चलचित्रमार्फत रचनात्मक उद्योगमा जोड्ने लक्ष्य हो,” उनले भनिन्, “ठूलो पर्दामा पुग्नुअघि चलचित्र निर्माताले गर्ने अभ्यासका लागि प्लेटफर्म निर्माण गर्ने र कोठामा बसेका दर्शकलाई चोकमा र चोकसम्म आएका दर्शकलाई हलसम्म लैजान फेस्टिभलले योगदान गर्नेछ।”
राजदूत पुइग–इञ्जाले सिनेमाका अनेक आयाम रहेको र तीमध्ये सांस्कृतिक पक्षको प्रवर्धनका लागि चलचित्र सशक्त माध्यम भएको बताए। “काठमाडौं महानगरपालिकाले आयोजना गरेको फेस्टिभलप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो छ। यो महत्त्वपूर्ण पक्ष हो,” उनले भने।
भेटमा चलचित्र उद्योगको विकासका लागि समावेशी आयाम, चलचित्र संस्कार, सहकार्य तथा समन्वय र कूटनीतिक सम्बन्धबारे छलफल भएको थियो। नेपाली र फ्रान्सेली चलचित्र उद्योगबीच ज्ञान, सिप, दक्षता र अनुभव आदानप्रदानको सम्भावनाबारे पनि कुराकानी भएको महानगरले जनाएको छ।
भेटमा दूतावासका राजनीतिक सल्लाहकार दिपेश बिडारी, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतम र प्रमुखको सचिवालयका अधिकृत सौरभ गौतमलगायत अधिकारी सहभागी थिए।