काठमाडौं । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ समेटिएको तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। २०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको यस गीतले नेपाली समाजको सांस्कृतिक परम्परा, चाडपर्वको उल्लास र पारिवारिक आत्मीयतालाई गीत–संगीतमार्फत प्रस्तुत गरेको छ।
पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द र आफ्नै लगानीमा तयार भएको उक्त गीत उहाँकै आधिकारिक युट्युब च्यानल Bhim Kumar Ojha Official मार्फत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ । नारायण दङ्गालले संगीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुको प्राविधिक योगदान रहेको छ।
चर्चित कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा स्वयं, उहाँकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काको अभिनय देख्न सकिन्छ।
गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित सिर्जना नभई गाउँघरको सम्झना, नेपालीपनको मिठास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको बढ्दो प्रभावसँगै ओझेल पर्दै गएका मौलिक संस्कार र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै तिनको संरक्षण र निरन्तरतामा योगदान पुर्याउनु गीतको प्रमुख उद्देश्य रहेको उनले बताए ।
तिहारको झिलिमिली, आँगनमा बल्ने दीप, देउसी–भैलोको गुञ्जन, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र आफन्तजनको न्यानो मायाजस्ता पक्ष नेपाली जनजीवनका अभिन्न हिस्सा हुन्। गीतले यिनै सांस्कृतिक विम्ब र भावनालाई शब्द, संगीत तथा दृश्यका माध्यमबाट जीवन्त बनाउने प्रयास गरेको छ।