काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका ४ जना विरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशहरूको नियुक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र पेस गर्न आग्रह गरेको हो ।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिससँगै चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिहरू सम्बन्धित पदमा नियुक्तिका लागि उपयुक्त नभएको ठान्ने व्यक्तिलाई त्यसको स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।
समितिको सूचनाअनुसार उजुरी शिष्ट र मर्यादित भाषामा तयार गरी सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा बुझाउनुपर्नेछ । उजुरीकर्ताले समितिको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत सूचना तथा उजुरी पेस गर्न सक्नेछन् ।
सूचना वा उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क फोन नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, उजुरीकर्ताले अनुरोध गरेमा उनको नाम गोप्य राखिने समितिले जनाएको छ ।