– श्यामकृष्ण लम्साल
बेसाहा बेसाउँदै
रगत बेचेर खुशी मनाउँदै
पसिनाको गन्धबाट टाढा भाग्ने
मेरो गाउँमा पनि
पोहोरपरारझैँ
यसपाली पनि आएछ तिहार ।
पुर्खाहरु
मानो रोपेर मुरी फालाउँथे
घट्ट, कोल र ढिकीजाँतो
आफैँ चलाउँथे
आफ्नै चलाउँथे
आफ्नै अन्नपातका मालिक आफैँ थिए
आफ्नै पौरख पुरुषार्थ र दशनङ्ग्राका
परिश्रमको फल ग्रहण गर्थेँ आफैँ
आफ्नाहरुलाई पनि तृप्त पार्थे
कर्मबाट थाकेको ज्यानलाई
आराम र पोषण भर्न
तिहार मनाउँथे
उहिले उहिले,
अहिले भने
आफ्नै सन्तानको
रगत बेचेर
खेतबारी बाँझे भएपनि
मुग्लानिनेहरुका इतिहासहरुलाई
जीवन्त राख्दै
विप्रेषणको उत्साह र उमङ्गको पसिना
अनि रगतको आडमा मुस्कुराउँदै
फाइँफुट्टी लगाउँदै आइपुगेछ
यसपालीको तिहार पनि,
तिहारको शुभकामना ।
चण्डिका तीर्थआश्रम, दिङ्ला, भोजपुर