काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्याली आयोजना गरेको हो ।
‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए ।
भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्यालीले काठमाडौँ उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो ।