क्यालिफोर्निया । लेखक तथा डिजिटल मिडिया प्लेटफर्म WittyFeed की पूर्व प्रधान सम्पादक लीना दुवाडीको पहिलो पुस्तक ‘काठमाडौँ टु क्यालिफोर्निया: द रोड टु रिडिस्कभरिङ सेल्फ लभ’ (Kathmandu to California: The Road to Rediscovering Self-Love) अमेरिकामा सार्वजनिक भएको छ।
नेपालदेखि भारत हुँदै अमेरिकासम्मको आफ्नो जीवनयात्रालाई आधार बनाएर लेखिएको यस पुस्तकमा लेखिका दुवाडीले व्यक्तिगत अनुभव, जीवनका चुनौती, भावनात्मक उतारचढाव र आत्मप्रेमको खोजीलाई प्रस्तुत गरेकी छन्।
आत्मकथा र आत्मविकासलाई संयोजन गरिएको यस पुस्तकले बाह्य सफलता हासिल गर्ने क्रममा मानिसले आफैँसँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने सन्देश दिन्छ। जीवनमा आइपर्ने कठिन परिस्थिति, सम्बन्धमा आउने परिवर्तन, व्यक्तिगत संघर्ष र अनपेक्षित मोडहरूले मानिसलाई कसरी आत्मबोध, आत्मस्वीकृति र व्यक्तिगत रूपान्तरणतर्फ डोर्याउन सक्छन् भन्ने विषयलाई पुस्तकको केन्द्रमा राखिएको छ।
दुवाडीले आफ्ना जीवनका तीता–मीठा अनुभवमार्फत प्राप्त सिकाइलाई पाठकसमक्ष राखेकी छन्। आत्मप्रेमलाई केवल आफूलाई माया गर्ने भावनाका रूपमा मात्र नभई आत्मसम्मान, भावनात्मक सुदृढता, आन्तरिक शान्ति र स्वस्थ जीवनदृष्टिको आधारका रूपमा पुस्तकमा प्रस्तुत गरिएको छ।
पुस्तक र लेखनयात्राबारे दुवाडी भन्छिन्, “यो पुस्तक मेरो जीवनयात्राका अनुभवहरूलाई शब्दमा उतार्ने प्रयास र आफैँलाई बुझ्न अनि स्वीकार गर्न सिकेको यात्राको अभिव्यक्ति हो। हामी जीवनमा सफलता, सम्बन्ध र अरूका अपेक्षाहरू पूरा गर्न यति व्यस्त हुन्छौँ कि कहिलेकाहीँ आफ्नै भावनालाई सुन्न, बुझ्न, महसुस गर्न र आफूलाई माया गर्न बिर्सन्छौँ। मेरा अनुभवले मलाई आत्मप्रेम भनेको स्वार्थ होइन, बरु आफूलाई बुझ्ने, स्वीकार गर्ने र जीवनका चुनौतीबीच पनि आफूभित्रको शक्ति पहिचान गर्ने प्रक्रिया हो भन्ने सिकाएका छन्।”
उनले अगाडि थपिन्, “मेरा अनुभव र आत्मिक यात्रालाई पढेर कुनै एक पाठकले मात्र भए पनि आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न र आफैँसँगको सम्बन्धलाई महत्त्व दिन प्रेरणा पाउनुभयो भने मेरो लेखन सार्थक हुनेछ।”
चितवनको सिनर्जी एफएमबाट पत्रकारिता तथा लेखन करिअर सुरु गरेकी दुवाडीले भारतमा विभिन्न टेलिभिजन प्रस्तोताका रूपमा काम गरेकी थिइन्। सन् २०१४ देखि भारतको चर्चित भाइरल कन्टेन्ट प्रकाशक WittyFeed मा ५ वर्ष प्रधान सम्पादकका रूपमा नेतृत्व सम्हालेकी उनले पछि अमेरिकाका विभिन्न मिडियामा आबद्ध भई अनुभव हासिल गरेकी छन्। पत्रकारिताका साथै उनी ब्रह्मकुमारी संस्थामा आबद्ध भई आध्यात्मिक प्रशिक्षण तथा आत्मचिन्तनमा समेत संलग्न छिन्।
पुस्तकको पेपरब्याक संस्करण अमेरिका र क्यानडालगायतका बजारमा तथा ई–बुक संस्करण विश्वभर अमेजन (Amazon) मार्फत उपलब्ध रहेको जानकारी दिइएको छ।