पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ । एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न भण्डारी चीन जान लागेकी हुन् ।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको यो फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक र मिडियाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सीपीआईएफएले गत शुक्रबार दिएको जानकारी अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित गरिसकेका छन् ।
सीपीआईएफएले आयोजना गर्ने फोरममा बदलिँदो विश्व व्यवस्थाका बिच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग जस्ता विषयमा छलफल हुनेछ ।