काठमाडौँ । बाढीकाे कारण क्षतिग्रस्त बनेको कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर जडान गरी शनिबार राति सवा १० बजे २२० केभीको एउटा सर्किट चार्ज गरेर प्रसारण लाइन अस्थायी रूपमा चालू गरेको हो ।
गत असोज ११ गतेको अविरल वर्षा, बाढी र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको थियो। जसमध्ये २१, २३ र २४ नम्बर टावर पूर्ण रूपमा ढलेका थिए भने २२ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो ।
प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमा जोडिएका निजी क्षेत्रका ५ जलविद्युत् आयोजनाबाट उत्पादित १७० मेगावाट विद्युत् प्रवाह रोकिएको थियो । लाइन सञ्चालनमा आएसँगै ती आयोजनाको विद्युत् पुनः राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भौगोलिक रूपमा जटिल र दुर्गम स्थानमा ERS टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि कर्मचारीको निरन्तर खटाइ र निजी क्षेत्रको सहकार्यले छिट्टै सफलता मिलेको बताए ।
प्राधिकरणको पोखरा ग्रिड महाशाखा प्रमुख रोशन खड्काका अनुसार इआरएस टावरबाट अस्थायी रूपमा बिजुली छाडिएसँगै क्षतिग्रस्त स्थायी टावरहरूको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। स्थायी टावर निर्माण सकिएपछि दाना–राहुघाट खण्ड नियमित रूपमा सञ्चालन हुनेछ ।
कालीगण्डकी र यसका सहायक नदीहरूमा बनेका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न यो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस १३० किलोमिटर लामो प्रसारण लाइनको क्षमता करिब १ हजार २ सय मेगावाट छ ।