सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो।
दुर्घटनालगत्तै प्रहरी चौकी रत्नावती र खाङसाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।
उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो। थप उपचारका लागि चारै जनालाई सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ।
संयुक्त सुरक्षा टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी गरिरहेको छ। दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।