काठमाडौं । नागरिक लगानी कोषसँग आबद्ध सहभागी, कर्मचारी र उनीहरूका आश्रित परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र एभरेस्ट अस्पताल प्रालिका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
तर, बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू हुने छैन ।
सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनेछ । आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्ने सहमति पनि भएको छ ।
छुट सुविधा लिन कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा भने कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ ।
सम्झौतामा दुवै संस्थाले सेवा प्रवाहका क्रममा प्राप्त हुने सूचना सुरक्षित राख्नुका साथै गोपनीयता कायम गर्नुपर्ने उल्लेख छ ।