नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा नेपाल भित्र्याइएको मदिरा बरामद गरेको छ । सुस्ता गाउँपालिका वडा नं. ५ स्थित महलबारीको भित्री सडक खण्डमा भारतबाट भन्सार छली ल्याइँदै गरेको १४ लाख ८४ हजार रुपैयाँ बराबरको रक्सी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन थापाले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान करिब ३:४५ बजे उक्त कारबाही गरेको हो ।
प्रहरीले ११ वटा झोलामा राखिएको ७५० मिलीलिटरका ७४२ बोतल 'ओल्ड मङ्क' रम बरामद गरेको डिएसपी थापाले बताए । बरामद गरिएको मदिराको बजार मूल्य प्रतिबोतल २ हजार रुपैयाँका दरले जम्मा १४ लाख ८४ हजार रुपैयाँ बराबर रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।