काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी 'हायर स्मार्ट होम' जोडिएको छ । यसका लागि दुई पक्षबीच केहिदिन अघि सम्झौता भएको हो । सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ ।
सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा हायरको लोगो रहने छ । सम्झौतापछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागि पनि महत्त्वपूर्ण भएको बताए ।
‘हायर एउटा विश्वव्यापी ब्रान्ड हो । यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिँदा एनपीएलका लागि पनि ठूलो अर्थ राख्छ । अन्तर्राष्ट्रिय कम्पनीहरू फ्रेन्चाइज टोलीसँग जोडिँदा त्यसले एनपीएलको प्रतिष्ठा बढाउन सहयोग गर्छ,’ उनले भने ।
हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्यारउन सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘हायर विश्वकै अग्रणी ब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो । यही कारण पनि हामीले यो साझेदारी गरेका हौँ । नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदै आएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौँ,’ उनले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सको टोलीमा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतम, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहान छन् । भने, विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी आर्सी सर्ट, नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायत टीममा रहेका छन् ।