काठमाडौँ । नेपाल टेलिकमले ग्राहकलाई अनलाइन आवेदनमार्फत सिमकार्ड घरमै उपलब्ध गराउने ‘हुलाक सिम’ सेवा सुरु गरेको छ। यो सेवाबाट ग्राहकले टेलिकमको काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबिना नयाँ प्रिपेड सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा उनले पहिलो ग्राहकका रूपमा नयाँ सिमकार्ड प्राप्त गरेका थिए। उनलाई नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले सिम हस्तान्तरण गरेका थिए।
सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस्तो सुविधाको दायरा विस्तार गर्नुपर्ने बताए। उनले आगामी दिनमा अन्य सेवासमेत अनलाइनमार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलले प्रविधिको प्रयोगबाट सरकारी सेवा हुलाकमार्फत घरमै पुर्याउने प्रयास महत्त्वपूर्ण भएको बताए। उनले नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्य थप विस्तार गर्नुपर्ने धारणा राखे।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले यसअघि कम्पनीका कार्यालय तथा डिलरमार्फत उपलब्ध हुँदै आएको सिमकार्ड अब ग्राहकको घरसम्मै पुर्याउन सकिने बताइन्। यसबाट दुर्गम तथा सडक पहुँच नपुगेका ग्रामीण क्षेत्रका नागरिकसमेत लाभान्वित हुने उनको भनाइ थियो।
हुलाक सेवा विभागकी महानिर्देशक भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा टेलिकमका सेवा विस्तार गर्न हुलाकको सञ्जाल उपयोगी हुने बताइन्।
कसरी लिने हुलाक सिम?
हुलाक सिम प्राप्त गर्न ग्राहकले नेपाल टेलिकमको पोस्टल सिम पोर्टल मा गएर अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा पूरा नाम, जन्ममिति, ठेगाना र नजिकको ल्यान्डमार्कसहितका व्यक्तिगत विवरण भर्नुपर्नेछ। साथै, आफ्नो प्रोफाइल फोटो र नागरिकता वा राहदानीको अगाडि तथा पछाडिको स्पष्ट तस्बिर अपलोड गरी नजिकको नेपाल टेलिकम काउन्टर छनोट गर्नुपर्नेछ।
आवेदन प्राप्त भएपछि नेपाल टेलिकमले कागजात जाँच गर्नेछ। आवेदनसम्बन्धी जानकारी एसएमएसमार्फत दिइनेछ। आवेदन स्वीकृत भएपछि ग्राहकले सिमकार्ड र हुलाकमार्फत डेलिभरीबापत लाग्ने शुल्क अनलाइनबाट भुक्तानी गर्न सक्नेछन्।
यस सेवाअन्तर्गत सिमकार्डका लागि ९० रुपैयाँ र हुलाक डेलिभरीका लागि ७० रुपैयाँ गरी जम्मा १६० रुपैयाँ शुल्क लाग्नेछ। ग्राहकले बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेबाट उक्त रकम भुक्तानी गर्न सक्नेछन्।
भुक्तानी पूरा भएपछि ग्राहकको मोबाइल नम्बरमा एसएमएस र इमेलमार्फत डेलिभरीसम्बन्धी जानकारी तथा सिम सक्रिय गर्ने कोड पठाइनेछ। उक्त कोड सुरक्षित राख्नुपर्नेछ। त्यसपछि ग्राहकको नजिकको हुलाक कार्यालयमार्फत सिमकार्ड पठाइनेछ र हुलाक कर्मचारीले ग्राहकको घरमै पुगेर सिम हस्तान्तरण गर्नेछन्।
सिम प्राप्त गरेपछि ग्राहकले नेपाल टेलिकमको पोर्टलमा लगइन गरी सक्रियता कोड प्रविष्ट गरेर वा नयाँ सिमबाट तोकिएको यूएसएसडी कोड डायल गरेर सिम सक्रिय गर्न सक्नेछन्।
हुलाक सिम सेवाको दर्तादेखि सिमकार्ड प्राप्त गर्ने प्रक्रियासम्मको विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध विवरण बाट लिन सकिनेछ।