काठमाडौं । लामो विद्यार्थी राजनीतिक अनुभव र युवा पुस्ताको प्रतिनिधित्वलाई आधार बनाएका युवा नेता बलदेव तिमिल्सिनाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा आएका तिमिल्सिना खुलातर्फ केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेविसंघको राजनीतिबाट उदाएका तिमिल्सिना चाबहिल क्याम्पसको नेविसंघ अध्यक्ष तथा स्ववियु सचिव भइसकेका छन् । उनले नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
२०६२/६३ को जनआन्दोलन तथा प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय तिमिल्सिना आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेलसमेत बसेका थिए । त्यसयता उनी कांग्रेसभित्र संघर्षशील युवा नेताका रूपमा परिचित छन् ।
पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व बढाउनुपर्ने धारणा राख्दै आएका तिमिल्सिना कांग्रेसको जिल्ला राजनीतिमा पनि सक्रिय रहँदै आएका छन् । यसपटक उनको उम्मेदवारीलाई सिन्धुपाल्चोकबाट केन्द्रीय नेतृत्वमा युवा पुस्ताको उपस्थिति बढाउने प्रयासका रूपमा हेरिएको छ ।
तिमिल्सिना यसअघि केही समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट देखिएका थिए । कांग्रेसको विशेष महाधिवेशनका क्रममा भने उनी विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका थिए । त्यतिबेला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरे पनि नेताहरूको व्यवस्थापनका कारण पछि हटेका थिए ।
यसपटक भने आफूले लामो समयदेखि पार्टीमा गरेको योगदान र सक्रियताको मूल्यांकन हुने विश्वाससहित उम्मेदवारी घोषणा गरेको तिमिल्सिनाले बताएका छन् ।
‘लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छु । मेरो भूमिका र सक्रियताका बारेमा सबैलाई थाहा छ,’ उनले भने, ‘यसपटक प्रतिनिधिहरूले मेरो योगदानको मूल्यांकन गरेर न्याय गर्नुहुनेछ भन्ने विश्वास छ ।’