ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको बताएका छन् । मुआब्जा, जग्गा अधिग्रहणलगायतका प्रक्रियागत समस्याका कारण रोकिएको आयोजनाअन्तर्गत हेटौंडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ वटा टावरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला र नेपाल विद्युत् प्राधिकरणबीचको समन्वय तथा निरन्तर पहलपछि निर्माणले गति लिएको हो।
प्रसारण लाइन सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप भरपर्दो बन्नुका साथै औद्योगिक विद्युत् माग सम्बोधन, अन्तर्देशीय विद्युत् व्यापार विस्तार र वर्षायाममा उत्पादित विद्युत् खेर जान नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्माण कम्पनीलाई बाँकी काम समयमै सम्पन्न गर्न तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण प्रभावकारी बनाउन आग्रह गरिएको छ। आयोजना छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ।