नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान करिब पौने ४ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।
बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।