काठमाडौं । नेपाली रंगमञ्चमा कथा प्रस्तुतिको नयाँ शैली प्रयोग गर्ने उद्देश्यसहित ‘कथालय’ कार्यक्रममा सञ्चारकर्मी, साहित्यकार तथा कथाकार दिपक समीरले आफ्नै कथा वाचन गर्ने भएका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असोज १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रममा समीरको कथा ‘आहत उजेलीहरू’ लाई वाचन, मौन अभिनय र प्रत्यक्ष संगीतको संयोजनमा प्रस्तुत गरिनेछ ।
कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरूले मौन अभिनयमार्फत कथाका भाव र घटनालाई मञ्चमा प्रस्तुत गर्नेछन् । कथाको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन संगीतकर्मी विकल खड्काको नेतृत्वमा रहेको समूहले प्रत्यक्ष संगीत प्रस्तुत गर्नेछ ।
कार्यक्रमका विभिन्न चरणमा गायिका सुनिता कार्कीको स्वरमा गीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
‘कथालय’ नाम दिइएको यो कार्यक्रम ब्रोडिजी ग्रुपको आयोजनामा हुन लागेको हो । कार्यक्रमको संयोजन पत्रकार विमल नेपालले गरेका छन्, भने सञ्चारकर्मी भोजबहादुर विश्वकर्मा सल्लाहकारका रूपमा जोडिएका छन् ।
‘आहत उजेलीहरू’ दिपक समीरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ मा समावेश कथा हो। कथाले वैदेशिक रोजगारीले नेपाली समाज र परिवारमा पारिरहेको सामाजिक तथा मानवीय प्रभावलाई विषयवस्तु बनाएको लेखक समीरको भनाइ छ ।
नेपालमा कथालाई नाट्यरूपमा मञ्चन गर्ने अभ्यास यसअघि पनि हुँदै आएको भए पनि वाचन, मौन अभिनय र प्रत्यक्ष संगीतलाई एकै प्रस्तुतिमा जोडेर कथा प्रस्तुत गर्ने यो शैली नयाँ प्रयोगका रूपमा अघि सारिएको आयोजकको दाबी छ ।
