काठमाडौँ । लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको नेपाल एसियन गेम्सबाट बाहिरिएको छ । मंगलबारका लागि तोकिएको खेल वर्षाका कारणा हुन नसक्दा एउटा पनि बल नखेली नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंका भने सिधै सेमिफाइनलमा पुगेको छ । आईसीसी वरियताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो ।
आइसिसीको पछिल्लो पुरुष टी-२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ। यही वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको थियो ।