काठमाडौं। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा काठमाडौं महानगरपालिका–१४ निवासी सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले आफ्नो अधिकार तथा जिम्मेवारीअनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर तथा सम्भावनाको समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्न निर्देशन दिए।
विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु चुनौतीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।
उनले लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी तथा विधिसम्मत बनाउन आवश्यक रहेको बताए। लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताका विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए।
श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सञ्चालनलाई थप प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ। उनले काठमाडौंस्थित किङ्ग्स कलेज, डन बस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन्।