काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको छ। लक्ष्यको तुलनामा असोज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ असुली भएको विभागले जनाएको छ । अब चालु आर्थिक वर्षमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको छ ।
तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोसीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा आउन नसकेको अवस्थामा समेत भन्सार प्रशासनले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको हो ।
विषम परिस्थितिका बाबजुद भन्सार प्रशासनको निरन्तर प्रयासबाट उक्त राजस्व संकलन गर्न सफल भएको विभागले जनाएको छ । अब बाँकी अवधिमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेर भन्सार प्रशासनले काम अघि बढाउने भएको छ । विभागले आगामी दिनमा राजस्व असुलीलाई थप प्रभावकारी बनाउँदै निर्धारित लक्ष्य हासिल गर्ने जनाएको छ ।