– श्यामकृष्ण लम्साल
घिन्ताङ घिन्ताङ गरी बज्ने
तिलकदाइको मादल
माङदिङ्गेदाइको सारङ्गी
भिकुर्नेदाइको मुर्चुङ्गा
राजनदाइको बिनायो
आजकल बजेको सुनिँदैन त ?
यी कता हराए ?
वा लोप भए ?
कि बिच्छेबाजाको कोपभाजनमा परेर
यी इतिहासमै हराए ?
संस्कृति, सभ्यताका मुहान्
यी हाम्रा अस्तित्व र इतिहास पनि थिए,
याद राख ठूल्दाइ !
अस्तित्व र इतिहासबिहीन बिहान कस्तो हुन्छ ?
तिमीले कोरल्ने नयाँ बिहानीमा
पुर्खाको रगत, पसिनाको गन्धको अस्तित्व
कहाँनेरी भेटिन्छ ?
दिङ्ला, भोजपुर