काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षित पिउने पानीको सुनिश्चित गर्न सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ । सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने विरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो ।
यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि, वडा सचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ । ‘वडा नं. १ बाट थालिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई दिइनेछ,’ महानगरकोको स्वास्थ्य विभागका समुदाय, स्वास्थ्य संस्था र विद्यालयहरूमा पानी स्वच्छता कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेल भन्छिन्, ‘तालिम दिइएका व्यक्तिहरुले नमुना संकलन गर्नुहुन्छ । संकलित नमूनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ ।’
अभिमुखीकरण कार्यक्रममा वडा १ का सदस्य रसला तण्डुकारले, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको तर, ख्याल गर्न नसकिएको विषयलाई उठाउन खोजिएको बताए । ‘यो अति जरुरी कार्यक्रम हो । थालनी भयो । छिट्टै नतिजा पनि दिनुपर्छ,’ उनले भने । ‘हामीले विश्वास गरेको पानी कति सुरक्षित छ ? यो थाहा हुन जरुरी छ,’ वडा सचिव सर्वज्ञराज पौडेलले भने, ‘पानीको सुरक्षा र स्वच्छताका उपाय अबलम्बन गर्न पनि आधार चाहिएको छ । अहिलेको कार्यक्रमले त्यो आधार दिनेछ ।’
अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ऋतु शर्माले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ का विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । ‘भौतिक, रसायनिक र जैविक गुणस्तरका आधारमा पानी सुरक्षित भए नभएको निर्धारण हुन्छ । सुरक्षित पानीका लागि ५ प्रकारका भौतिक, १३ प्रकारका रसायनिक र एक प्रकारको जैविक परीक्षण गर्नु पर्ने पारामिटर तोकिएका छन् । जोखिम तथा सान्दर्भिकताका आधारमा थप १–१ भौतिक र जैविक तथा ७ रसायनिक परीक्षण गर्नुपर्छ,’ उनले भनिन् ।
उनका अनुसार पानीको गुणस्तर परीक्षण एकपटक गरेर पुग्ने विषय होइन । पानीको भौतिक गुणअन्तर्गत धमिलोपना, हाइड्रोजन आयन साद्रता, रङ, स्वाद तथा गन्धको परीक्षण दैनिक गर्नुपर्ने व्यवस्था हुन्छ । कुल घुलित ठोस पदार्थको परीक्षण त्रैमासिक र विद्युतीय चालकत्वको परीक्षण मासिक गर्नुपर्छ ।
रसायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कठोरता र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्छ । फलाम, म्यांगानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत पारामिटरको परीक्षण वार्षिक रूपमा गर्नु पर्ने मापदण्डमा उल्लेख छ । सूक्ष्म जैविकतर्फ इकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्ने व्यवस्था छ ।
विज्ञहरूका अनुसार पानीको नमुना संकलन पनि परीक्षणको महत्वपूर्ण पक्ष हो । पाइपबाट पानी वितरण हुने प्रणालीमा सामुदायिक तथा निजी धाराबाट, पानी पोखरी, पानी प्रशोधन केन्द्रका एकाइ र पानीको मुहानबाट नमूना लिन सकिने व्यवस्था छ । ट्यांकरबाट वितरण हुने पानीका लागि सेवाग्राहीले पानी भर्ने पाइपबाट नमुना संकलन गर्नुपर्छ ।
‘होटल, उद्योग, अस्पताल, व्यावसायिक तथा आवासीय भवनमा पानी पोखरीबाट निस्कने पाइप वा धाराबाट नमूना लिइनुपर्छ । वर्षाको पानी सङ्कलन गर्ने प्रणालीमा पानी जम्मा भएको घैँटो वा पोखरीबाट नमूना लिनुपर्छ,’ प्रशिक्षक शर्माले भनिन्, यसले पानीको स्रोत मात्र परीक्षण गरेर उपभोक्ताको धारासम्मको पानी सुरक्षित छ भन्ने निष्कर्ष निकाल्न नहुने देखाउँछ । वितरण प्रणाली, भण्डारण र अन्तिम प्रयोग बिन्दुमा समेत पानीको अवस्था परीक्षण गर्नुपर्ने हुन्छ ।’
यी सबै प्रक्रिया र प्रणालीमा काठमाडौँ महानगरका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्र कुन अवस्थामा छन् भन्ने निष्कर्ष अभिमुखीकरणपछिको परीक्षणबाट नतिजा प्राप्त हुने उनले जानकारी दिइन् ।