सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकामा वडाको सिमाना तथा संख्या हेरफेर हुने भएकाे छ । वडाको सिमाना तथा संख्या हेरफेर गरी नयाँ वडा नं. ९ कायम गर्न बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थाप समक्ष प्रस्ताव पेस गरिएको हाे ।
गाउँपालिका तथा नगरपालिका, वडाको सिमा तथा संख्या हेरफेर मापदण्ड, २०८३ अनुसार बिहीबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोसम्बन्धी औपचारिक फाइल पेस गरिएको छ ।
उक्त प्रस्ताव पेस गर्ने क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, प्रदेश सभा सदस्य अमृता नेपाल तथा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको उपस्थिति रहेको थियो ।
मापदण्डको अनुसूची-२ बमोजिम तोकिएको प्रक्रिया पूरा गर्दै गाउँपालिकाको तर्फबाट नयाँ वडा स्थापना तथा सीमा हेरफेरको सम्पूर्ण कागजातसहितको फाइल मुख्यमन्त्रीसमक्ष हस्तान्तरण गरेको बलेफी गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।
बलेफी गाउँपालिकाले पठाएको पत्र र आधिकारिक कागजातअनुसार यसअघि नै गाउँपालिकाको विभिन्न मितिमा बसेको गाउँ कार्यपालिका तथा गाउँ सभाको बैठकबाट वडाको सीमा र संख्या हेरफेर गर्ने निर्णय गरिएको थियो। सोही निर्णय र प्रचलित मापदण्डको दफा ५(१) बमोजिम अध्ययन गरी प्रतिवेदन उपलब्ध गराउन अध्ययन समितिलाई अनुरोध गरिएको र त्यसपश्चात जिल्ला समन्वय समितिको कार्यालयमार्फत प्राप्त निर्देशन र प्रक्रियाअनुसार आवश्यक कागजात तयार पारिएको तामाङले बताए ।
वि.सं. २०७७ साल असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठकमार्फत गठन भएको ५ सदस्यीय कार्यदल लगायत विभिन्न चरणमा भएका प्रशासनिक तथा स्थानीय तहका निर्णयहरूका आधारमा यो प्रक्रिया अगाडि बढाइएको हो। साविकको फूल्पिङ डाँडा गाविसका विभिन्न वडाहरूको समायोजन तथा व्यवस्थापनपश्चात बलेफी गाउँपालिकामा नयाँ वडा नं. ९ थप गरी कायम गर्नुपर्ने मागसहितको यस प्रस्तावले अब प्रदेश सरकारबाट आवश्यक कानुनी तथा व्यावहारिक प्रक्रिया पूरा गर्ने विश्वास लिइएको अध्यक्ष तामाङको भनाइ छ।