ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यस सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रयोगशाला तथा स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा आवश्यकताअनुसार बिरामीको घरमै उपलब्ध गराइनेछ।
‘किष्ट एट होम’ किष्ट शिक्षण अस्पतालकै एकीकृत स्वास्थ्य सेवा इकाइका रूपमा सञ्चालन हुनेछ। उपचारअघि, उपचारका क्रममा र उपचारपछि समेत बिरामीलाई निरन्तर स्वास्थ्य सेवासँग जोडिराख्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ। सेवाअन्तर्गत घरमै नर्सिङ सेवा, चिकित्सकको भेट, फिजियोथेरापी, ज्येष्ठ नागरिकको हेरचाह, शल्यक्रियापछिको हेरचाह तथा दीर्घरोग व्यवस्थापनलगायतका सेवा उपलब्ध हुनेछन्।
त्यस्तै, घरमै रगत तथा अन्य नमुना संकलन, खोप, दूरचिकित्सा, स्वास्थ्य परीक्षणपछिको परामर्श तथा हेरचाहकर्तासम्बन्धी सेवा पनि प्रदान गरिनेछ। आवश्यकताअनुसार चिकित्सकीय उपकरण भाडामा उपलब्ध गराउने, गम्भीर बिरामीको घरमै हेरचाह तथा बिरामी ओसारपसारको व्यवस्था समेत गरिने अस्पतालले जनाएको छ।
आकस्मिक अवस्थामा बिरामीको अवस्थाअनुसार एम्बुलेन्स तथा बिरामी ओसारपसार सेवामार्फत अस्पतालसम्म ल्याउने व्यवस्था हुनेछ। घरमै उपचाररत बिरामीलाई थप विशेषज्ञ उपचार आवश्यक परेमा किष्ट शिक्षण अस्पतालको स्वास्थ्य सेवा सञ्जालसँग सहज रूपमा जोडिने व्यवस्था गरिनेछ।
घरमै संकलन गरिएका रगत तथा अन्य नमुना किष्ट शिक्षण अस्पतालको प्रयोगशालामा परीक्षण गरी प्रतिवेदन उपलब्ध गराइनेछ। बिरामीको स्वास्थ्यसम्बन्धी विवरण अस्पतालको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमार्फत व्यवस्थित गरिने र स्वास्थ्य विवरणको गोपनीयता कायम गरिने अस्पतालले जनाएको छ।
विशेषगरी शल्यक्रियापछि घरमै स्वास्थ्य निगरानी आवश्यक पर्ने बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगी, फिजियोथेरापी आवश्यक पर्ने तथा जीवनको अन्तिम चरणमा रहेका बिरामीलाई ‘किष्ट एट होम’ सेवाबाट सहज हुने अपेक्षा गरिएको छ। अस्पतालका अनुसार यस सेवाको मुख्य उद्देश्य किष्ट शिक्षण अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको घरसम्म पुर्याउनु हो।