काठमाडौँ । हरितालिका (तिज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् । दर खाएसँगै आजदेखि चारदिने तिज पर्व औपचारिक रूपमा सुरु हुँदै छ । विशेष गरी नेपाली नारीले मनाउने तिजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् ।
दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध र आडिला परिकार खाइन्छ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।
महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तिजलाई लिइन्छ । जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तिजका भाकामा सार्वजनिक गर्छन् ।
दर खाएपछि सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन गरिन्छ ।