काठमाडौँ । भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकाअनुसार कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको बताउँदै घोषणापत्र सर्वसम्मतिले पारित भएको हाे । ब्रिक्स सम्मेलन आज पनि जारी रहनेछ ।
हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन् ।
ब्रिक्स नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा
पहलगाम आतंकवादी आक्रमणको निन्दा: अप्रिल २२, २०२५ मा भएको आक्रमणको कडा निन्दा, २६ जनाको मृत्यु भएको उल्लेख गर्दै।
आतंकवादविरुद्ध कडा अडान: आतंकवादका सबै रूप र कारणको निन्दा ।
धर्मलाई आतंकवादसँग नजोड्ने: आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध ।
सीमापार आतंकवादविरुद्ध कारबाही: आतंकवाद, यसको कोष र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड ।
आतंकवादीहरूलाई जवाफदेही बनाउने: आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान ।
संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने: अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग ।
ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने: पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड ।
एकपक्षीय भन्सार शुल्कको निन्दा: एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्ने ।
आणविक खतरा: आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त ।
भारतको अध्यक्षताको प्रशंसा: ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा गरे ।