काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका शाखा तथा कार्यालयलाई सेवा सुचारु गर्ने प्रयोजनका लागि संस्था आफैंले स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्ने व्यवस्था गरेको हो ।
यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । यसैगरी, राष्ट्र बैंकले रसुवालगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई वित्तीय सेवा निरन्तरता दिन सहजीकरण गर्न निर्देशन दिएको छ ।
विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहक यकिन गरी आवश्यक वित्तीय सेवा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।